प्रधानमन्त्री केपी शर्मा ओलीले टेकुस्थित शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ । खोप अभियान शुभारम्भलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको लडाईमा विगतमा अपनाइएका विधिहरु अझै कायम राख्न आग्रह गर्नुहुँदै उहाँले अबको तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निशुल्क उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भूगोल र सीमाभन्दा बाहिर गएर मानव जातीको बचाउका लागि खोज अध्ययन अनुसन्धान गरी कोरोना खोप आविष्कार र निर्माणमा खटिने वैज्ञानिक, उत्पादन गर्ने संस्था, लगानी गर्ने मुलुकहरुलाई धन्यवाद दिनु हुँदै उहाँले मानवजाती विरुद्धको महामारी रोक्न निर्माण गरिएको खोप नाफा कमाउने नभइ मानव जातीको जीवन बचाउनका लागि विश्वका सबै मानिसहरुको साझा हुनुपर्ने बताउनुभयो । विश्वका विभिन्न मुलुकसँग पनि सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदका सम्बन्धमा कुराकानी अघि बढाएको जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले भारत सरकारसँग उचित मूल्यमा थप खोप खरिदका सम्बन्धमा पनि सरकारले छलफल गरिरहेको बताउनुभयो।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्ध खोप अभियानमा पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै मुलुकमा कोरोनाविरुद्ध खोप न्यायोचित वितरण गरिनुपर्ने उल्लेख गर्नुभएको छ ।सन्देशमा राष्ट्रपति भण्डारीले खोप अभियानलाई सफल पार्न सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको पनि बताउनुभयो । कार्यक्रममा मन्त्री त्रिपाठीले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई धन्यबाद दिनुहुँदै उहाले खोप लगाउन स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई आग्रह गर्नुभयो ।

संसारमा सुरु भएको छोटो समयमा नेपालमा खोप आइपुगेको भन्नुहुँदै मन्त्री त्रिपाठीले खोप सुरु गरिएको दिन ऐतिहासिक भएको बताउनुभयो ।सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरू, शव व्यवस्थापनमा खटिएकाहरू, सरसफाइकर्मी, एम्बुलेन्स चालकलाई कोरोनाविरूद्ध खोप लगाइँदैछ । भारत सरकारले अनुदानमा दश लाख डोज कोभिसिल्ड खोप उपलव्ध गराएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र करिब १७ केन्द्र र देशभर गरी कूल ३०० सय भन्दा केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउन सुरू गरिएको छ । सरकारले प्रदेशहरूमा खोप र आवश्यक बजेट पनि पठाइसकिएको बताएको छ । आगामी दश दिनभित्र सबै जिल्लामा कोरोनाविरूद्ध खोप पुर्‍याइने र अग्रमोर्चामा खटिएकाहरूलाई पहिलो चरणमा खोप लगाउने मन्त्रालयको भनाइ छ । पहिलो चरणमा चार लाख जनाभन्दा बढीलाई खोप लगाउने सरकारी तयारीले स्वास्थ्यकर्मीहरू उत्साहित छन् । टेकुस्थित शुक्रराज ट्रपिकल सरूवा रोग अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताललगायतबाट खोप अभियान सुरु गरिएको हो आजै करिव १२ हजार जनाले यो खोप लागउने मन्त्रालयले जनाएको छ ।