मकवानपुर– मकवानपुरमा भुकम्पबाट प्रभावित सामुदायिक विद्यालयको भवन प्रबलिकरणका लागि पहिलो पटक विद्यालयसंग सम्झौता भएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितीमा प्रबलीकरण तालिम सञ्चालन तथा विद्यालय भवन प्रबलीकरणका लागि सम्झौता भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (शिक्षा)÷जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) र हेटौंडा–१७ स्थित बालवोध मावि बीच दुईवटा ब्लकको प्रबलिकरणका लागि सम्झौता गरिएको हो । जिल्लामा पहिलो पटक विद्यालय भवन प्रबलीकरण तालिमसंगै उक्त विद्यालयको प्रबलिकरण गर्ने सम्झौता भएको जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठकले जानकारी दिनुभयो । २०७२ सालको भुकम्पबाट प्रभावित १४ जिल्लामा क्षतीग्रस्त सामुदायिक विद्यालयहरुमा प्रबलीकरण गर्नुपर्ने विद्यालयको प्रवलिकरण गर्न र उक्त कार्यका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले तालिम सञ्चालन गर्न लागिएको हो ।
प्रमुख पाठकका अनुसार जिल्लाका १० वटै पालिकाबाट छनौट भएका कुल १२० जना डकर्मिलाई प्रबलीकरण सम्बन्धी ५० दिने आवासीय तालिम प्रदान गर्नुका साथै सो अवधिमा उक्त विद्यालयको दुईवटा ब्लकको प्रबलीकरण गरिने छ । जिल्लामा प्रबलीकरणका लागि सिफारीस भएका विद्यालय मध्ये बालबोध मावि छनौटमा परि सम्झौता गरिएको हो । उक्त विद्यालयको प्रबलीकरण तथा प्रबलीकरण तालिम सञ्चालनका लागि कुल १ करोड ९१ लख १३ हजार २८५ रुपैया लागत अनुमान गरिएको छ ।
जिसस प्रमुख खुलालको उपस्थितीमा भएको सम्झौता पत्रमा जिल्ला आयोजना कार्यान्वयन ईकाईका तर्फबाट ईकाइ प्रमुख पाठक र विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादु बिष्टले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा १७ नम्बर वडा अध्यक्ष भैरब बहादुर राई, विद्यालयका प्रअ रमेश रिजाल, ईकाईका ईन्जिनियर अमर श्रेष्ठ, पारामर्शदाता कम्पनीका ईन्जिनियर सुदिप खड्का लगायतको सहभागिता थियो । सो अवसरमा प्रमुख खुलालले सम्झौता बमोजिम कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।