फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सबैसँग मिलेर शान्ति र मानव अधिकारको पक्षमा अघि बढ्न तयार रहेको बताउनुभएको छ । मानव अधिकार तथा सामाजिक अभियान नेपालको घोषणा सभालाई भर्चुअल माध्यमबाट आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशमा सुशासन कायम गर्न र विकासको माध्यामबाट जनताका अधिकारलाई सुनिश्चित गर्ने विषयमा सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।
नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टीको सिद्धान्त र घोषणापत्र अनुसार नै सरकारले जनताको पक्षमा काम गरिहेको भन्नुहुँदै मानव अधिकारका सवालमा अन्तराष्ट्रिय जगतले समेत वर्तमान सरकारलाई विश्वास गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले जनता नै शक्तिको स्रोत हुने उपयुक्त शासन व्यवस्था कमजोर पार्ने तर्फ नलागी वार्ता र संवादको माध्यामबाट निकास खोज्न असन्तुष्ट पक्षलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले जनताका मौलिक हक र अधिकारको कार्यान्वयनमा सरकार सजग रहेको भन्नुहुँदै औचित्य र आवश्यकताका आधारमा संविधान समेत संशोधन गर्न सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ पुर्तिका लागि नभई नेपालको विविधतालाई सम्पदा मानेर एकताका भाबले राष्ट्र निमार्णमा लाग्नुपर्नेमा जोडदिनुभयो । प्रधानमन्त्री ओलीले कोरोना भाइरसका कारण सिर्जना भएको समस्यालाई सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्ष एकजुट भएमा सुधार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
घोषणा सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकारका विश्वव्यापी मान्यतालाई नेपालमा स्थापित गर्न कम्युनिष्ट शक्तिहरु सक्षम रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले मानव अधिकारका पक्षमा गरेका दृढता र प्रतिबद्धताहरु कार्यान्वयन गर्नु पार्टीका लागि चुनौती र अवसर दुबै भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले समाजमा रहेका सबै खाले विभेद, हिंसाजन्य घटना र भ्रष्ट्राचार तथा दण्डहीनताको अन्त्य भए मात्र मुलकमा मानव अधिकारको प्रत्याभुत हुने बताउनुभयो । अध्यक्ष प्रचण्डले कोरोना भाइरसको सङ्क्रमणसँगै विभिन्न वाहानामा महिला हिंसाका घटना बढ्नु चिन्ताको विषय भएको भन्दै दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले निशुल्क शिक्षा र स्वास्थ्य, भूमिहीन हरुलाई जमीन दिनुपर्ने लगायत नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने चुनौती समेत सरकारलाई रहेको बताउनुभयो ।