एप्पलले निकट भविष्यमा ल्याउने अपेक्षा गरिएको आइफोन १२ को उत्पादन तीव्र गतिमा भैरहेको छ । एप्पलको आइफोन उत्पादन गर्ने ताइवानस्थित फक्सकन कम्पनीको कारखानामा मजदुरहरु २४ सै घण्टा खटिइरहेका छन्, आइफोन १२ बनाउनका लागि । समाचारअनुसार आइफोनको कारखानामा मजदुरहरुलाई विदा पनि दिइएको छैन र अनिवार्य रुपमा अतिरिक्त समयमा काम गराइएको छ । उच्चतम क्षमतामा आइफोन १२ उत्पादनका लागि मजदुरहरु दिनरात काममा खटिरहेका छन् । फक्सकन कम्पनीले मजदुरहरुलाई देशव्यापी विदाको दिनहरुमा समेत विदा नदिई काममा लगाएको छ ।
साउथ चाइना मर्निङ पोष्टले फक्सकनमा कार्यरत एक मजदुर वांग गोफेंगलाई उद्धृत गर्दै जनाए अनुसार गृष्मयामदेखि कम्पनीमा कामदारहरुलाई अतिरिक्त समयमा काम लगाउने क्रम बढिरहेको छ र धेरैजसो कामदारलाई महिनामा जम्मा ४ दिनमात्र विदा दिइएको छ । कामको उच्च चाप र तनावका बीच पनि आइफोन १२ निर्माता कारखानामा कार्यरत कामदारहरुले त्यसलाई अधिकतम रकम आर्जन गर्ने मौकाको रुपमा लिइरहेका छन् । कम्पनीले हालको समयमा मेहनतपूर्वक काम गर्ने कामदारहरुलाई बोनस, भत्ता तथा अन्य विभिन्न खाले नगद प्रोत्साहन उपलब्ध गराइरहेको छ । मानिसहरु राष्ट्रिय विदाहरुमा पनि झन् काम गर्न हौसिने गरेका छन् । किनकी चिनियाँ श्रम कानून अनुसार मध्य हेमन्त पर्वको विदाको पहिलो तीन दिन काम गर्नेलाई तलबको तेब्बर भुक्तानी गर्नुपर्ने हुन्छ ।
आइफोन उत्पादक कारखाना फक्सकनले सेप्टेम्बर १८ पछि काम थालेर कम्तिमा ९० दिनसम्म जागिरमा रही कम्तिमा ५५ दिनसम्म काममा आएका कामदारलाई बोनसको रुपमा १० हजार युआन दिने बताइसकेको छ । त्यस्तै सेप्टेम्बर २६ पछि भर्ना भएका कामदारले चाहिँ बोनसको रुपमा ८ हजार ५ सय युआन पाउनेछन् । महामारीका कारण फक्सकन कम्पनीमा श्रमिक अभावका कारण काममा बाधा नपरोस् भन्नका लागि सरकारले पनि सघाइरहेको छ । सरकारले महामारीका कारण घरमा बसिरहेका २ लाखभन्दा धेरै कामदारलाई छिटोभन्दा छिटो कार्यक्षेत्रमा पठाउनका लागि विशेष सहुलियत प्रदान गरेको थियो । गत जून महिनामा फक्सकन कम्पनीको निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा प्रतिशतले बढेको थियो ।सेप्टेम्बर महिनामा नयाँ आइफोन सार्वजनिक नगरेको एप्पलले आगामी अक्टोबर १३ मा आइफोन १२ संस्करण सार्वजनिक गर्ने समाचारहरु सार्वजनिक भएका छन् । एप्पल इनसाइडरको एक रिपोर्ट अनुसार आइफोन १२ को प्रिअर्डर चाहिँ १६ अक्टोबरदेखि सुरु हुनेछ । नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्ने बताइएको छ ।
–अनलाइन