मकवानपुर । बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता आईतबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना पारित गरेको समेत गरेको छ ।
यस वर्षको मनसुन शूरु भैसकेको र मनसुनका कारण विभिन्न जिल्लामा बाढि पहिरोले क्षति पुर्याउन शूरु गरिसकेको हुँदा कार्यकारी समितिको बैठकले प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र उद्दार सम्वन्धि प्रतिकार्यको योजना निर्माण गरेको हो । बैठकले बिभिन्न विषयगत क्षेत्रमा कार्य गर्नेगरि प्रदेश सरकारका विषयगत मन्त्रालयहरु र गैरसरकारी संघसंस्थाहरुका लागि विषयगत क्षेत्र तय गरि ती मन्त्रालयको ठोस ठोस स्थानमा कार्य जिम्मेवारीसमेत तोकेको छ ।
मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले प्रदेशमा विपद्संग सम्बन्धित पूर्वतयारीदेखि पुनर्लाभसम्मका कार्यका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाइ निर्देशन दिनेछ, भने आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायहरुसंग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामाग्री साथै राहत सामग्रीहरुको प्रवन्ध गर्ने, भण्डारण गर्ने र वितरण गर्ने काम गर्नेछ । त्यस्तै प्रदेश विपद् कोष संचालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिबाट निर्देशन भए बमोजिम आवश्यक रकम कोषबाट खर्च गर्नसक्ने छ ।
आजको बैठकमा मन्त्री श्रेष्ठले सम्पूर्ण विषयगत मन्त्रालयहरुका सचिव, सुरक्षा निकायका प्रमुखहरु र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो । सोहि अवसरमा मन्त्री श्रेष्ठले बागमती प्रदेश प्रहरी कार्यालयका लागि प्रहरी नायव महानिरीक्षक किरण राणालाई ड्रोन हस्तान्तरण गर्नुभएको थियो । बैठकमा मुख्यमन्त्री कार्यालयसहित सरोकारवाला मन्त्रालयका सचिवहरु, आन्तरिक मामिला मन्त्रालयका सचिव, नेपाल रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो ।