मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । बुधबार हेटौंडा–१४ मा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा सरोकारवालासंगको छलफल कार्यक्रममा उहाँले स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न र समुदायमा सचेतना जगाउने काममा लाग्न आग्रह गर्नुभएको छ ।

नागरिकले स्वास्थ्य सतर्कता नअपनाउँदा कोरोना संक्रमण तीव्र बन्दै गएकाले स्वास्थ्य निर्देशिकाहरुको अनिवार्य रुपले पालना गर्न र गराउनु पर्ने उहाँको भनाई थियो । मापदण्ड पालना गर्न सचेत गराउनु र सतर्कता अपनाउनु नै यस रोगबाट जोगिने उपाए भएकाले त्यस बारेमा सचेतना जगाउन सबैलाई आग्रह गर्नुभयो ।

आफ्नो स्वास्थ्यका बारेमा सबै आफै सचेत हुनु पर्ने उहाँको भनाई थियो । उहाँले समुदायमा नकारात्मक कुराहरु फैलिएको भन्दै “कोरोना केही होईन भन्नु पनि गलत र यसले सबै सकिन्छ” भन्ने दुबै कुरा गलत भएकोले यस विषयमा समुदायमा सचेतना अभिबृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले समुदाय सचेत नभए सम्म यसबाट सुरक्षित हुन गा¥हो भएको भन्दै समुदायलाई सचेत बनाउँदै दैनिक जनजीविकामा अभ्यस्त हुँदै जानु पर्ने बताउनुभयो । उहाँले यसका लागि सबैको सहकार्य जरुरी रहेको पनि बताउनुभएको छ । यस अघि प्रमुख खुलालले हेटौंडाका विभिन्न वडाहरुमा छलफल आयोजना गरेर कोरोना बिरुद्ध सचेतना जगाउँदै आउनुभएको छ ।

कार्यक्रममा १४ नम्बर अध्यक्ष दिपक खड्काले ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । छलफलमा वडाका निर्वाचित जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि, टोलबिकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।