हेटौंडा । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन आजबाट सुरू हुँदै छ । अधिवेशनकाे आज काठमाण्डौ स्थित भृकुटीमण्डपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुँने कार्यक्रम छ ।
आज र भोलि दुइदिन हुने अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने र नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको एमालेले जनाएको छ । एमालेका अनुसार अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म करिब डेढ दर्जनले आकाङ्क्षा राखेका छन् । अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल लगायतले नेतृत्वका लागि दाबी गर्दै आएका छन् ।
एमालेको बागमती प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । एमालेले प्रदेश अधिवेशनमा अधिकतम सहमतिको प्रयास गर्ने, तर सहमति नभएको अवस्थामा मात्र चुनावको विकल्प खुला राख्ने नीति तय भएको छ ।