file photo

हेटौंडा । नेपाली कांग्रेसको वाग्मती प्रदेश कार्यसमितिले राष्ट्रियसभा निर्वाचनका लागि ९१ जनाको नाम सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश संसदीय बोर्डको बैठकले कलाकार नीर शाह र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालसहित ९१ जनाको नाम सिफारिस गरेको हो ।
जसमा कांग्रेस केन्द्रीय कार्यसमितिका १० जना सदस्यहरूसमेत छन् । बोर्डका एक सदस्यका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनका लागि केन्द्रीय सदस्यहरू हरिशरण नेपाली, जिपछिरिङ लामा, गणेश लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, राधा घले, मदनबहादुर अमात्य, जितजंग बस्नेत, मदनकृष्ण श्रेष्ठ र गंगा अवालेको नाम सिफारिस भएको छ ।
त्यस्तै, प्रदेश पदाधिकारीबाट महामन्त्री राजु श्रेष्ठसहित सहमहामन्त्रीहरू जीवन डंगोल, चन्द्र महर्जन र हरिशरण श्रेष्ठको नाम सिफारिस भएको छ । लोकतान्त्रिक अपांग महासंघका पूर्वअध्यक्ष भोजराज श्रेष्ठको नाम पनि सिफारिस भएको छ । जिल्ला सभापतिहरूबाट काठमाडौं सभापति कृष्ण बानियाँ सवुज र मकवानपुर सभापति बुद्धरत्न लामाको नाम सिफारिस भएको छ ।