हेटौँडा । नेकपा एमाले मकवानपुरले तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजबाट हेटौंडामा सुरु भएको छ । आजदेखि शुक्रबारसम्म जिल्ला कमिटी मकवानपुरको पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको नेकपा एमाले पार्टीका महासचिव शङ्कर पोखरेलले उद्घाटन् गर्नुभयो । उद्घाटन्का र्यक्रममा बोल्दै उहाँले राजनीतिक नेतृत्व गर्ने हो भने पाटीका दस्ताबेजहरु पढ्नै पर्ने बताउनुभयो । जवजका विषयमा पढियो भने राजनीतिक कार्यदिसा तर्फ लागिने उहाँले बताउनुभयो । महासचिव पोखरेलले अहिले जनताको अवस्था बदल्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
नेकपा एमाले सरकारमा हुँदा जनहितको पक्षमा महत्वपूर्ण काम सुरु गरेपनि अहिलेको सरकारले यसलाई कटौती गर्दै गइरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले कार्यकर्तालाई एमालेको पालोमा भएको राम्रा कामको खोजी र प्रचार गर्न आग्रह गर्नुभयो । एमाले समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ अघि बढेको पार्टी भएकोले समाजको आर्थिक र सामाजिक क्षेत्रको विकास गर्न अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । एमालेको संगठन र कार्यकर्ता बलियो रहेकोले जनतासँग जोडिन पुगेर उनीहरुको जीवनमा परिवर्तन ल्याउन सक्रियता देखाउनुपर्ने उहाँकोे भनाई छ ।
नेता कार्यकर्ताहरुले राजनीतिक आन्दोलनलाई सफल पार्न राजनीतिक दस्तावेज पढ्नुपर्ने उहाँले बताउनुुभयो । तब मात्र समाजमा रुपान्तरणको काम गर्नुसक्ने उहाँको भनाई छ । नेपालमा तीन पटक क्रान्ति हुँदा पनि समाजलाई बदल्न नसकिरहेको र यसको अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।
महासचिब पोख्रेलले आज धेरै समय पार्टीको राजनीतिक पृष्ठभुमीका विषयमा र पाटीको अहिलेको अवस्था, भावि कार्ययोजना लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । पार्टीको दशौँ महाधिवेशनको कार्यदिशामा जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रशिक्षण दिने कार्यक्रम राखिएको हो ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एक लाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, एमालेका अरु नेताहरु, जिल्ला कमिटीका सदस्यहरु लगायतकाको सहभागिता रहेको छ ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले माक्र्सवादी दृष्टिकोण, सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले सङ्गठन निर्माण, व्यवस्थापन तथा परिचालन, स्थायी कमिटी सदस्य प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठनबिचको अन्तरसम्बन्ध र परिचालन, स्थायी कमिटी सदस्य राजन भट्टराईले भूराजनीतिक र परराष्ट्र सम्बन्धका बारेमा प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ ।
यस्तै, स्थायी कमिटी सदस्य गुरु बरालले समृद्व नेपाल र सुखी नेपाली, पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले समृद्व मकवानपुरसम्बन्धी अवधारणा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले मिसन ८४ को कार्यभार, पोलिटव्यूरो सदस्य कैलाशप्रसाद ढुङ्गेलले पार्टी र जनप्रतिनिधिबिचको अन्तरसम्बन्ध र बालकृष्ण देउजाले सूचना प्रविधि प्रयोग र महत्व र प्रशिक्षण शैलीबारे प्रशिक्षण दिनु हुनेछ ।