राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्त्यसम्म देशको अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरेको छ । कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय लेखामान तथ्याङ्कानुसार जीडीपीको आकार झन्डै ४ खर्ब रुपैयाँले बढ्ने अनुमान गरेको हो ।
गएको वर्ष जीडीपीको आकार ५७ खर्ब ९ अर्ब रुपैयाँ कायम भएको थियो । चालू वर्ष जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रले २५ दशमलव १६ प्रतिशत, व्यापार क्षेत्रले १४ दशमलव ५५ प्रतिशतले योगदान गर्ने अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४ दशमलव ६१ प्रतिशत हुने कार्यालयको प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्ष कृषि क्षेत्रको ३ दशमलव २८ प्रतिशत र गैरकृषि क्षेत्रको ४ दशमलव २८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान छ ।
तथ्याङ्क कार्यालयले १८ किसिमका आर्थिक क्रियाकलापमा वर्गीकरण गरी राष्ट्रिय लेखाका अनुमान प्रकाशन गरेको हो । जसमध्ये चालू आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर १३ दशमलव ८२ प्रतिशत विद्युत् तथा ग्याँस क्षेत्रको हुने प्रारम्भिक अनुमान छ । यस्तै यस वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ५ सय १७ अमेरिकी डलर पुग्ने कार्यालयको अनुमान छ । गएको आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय कुल आय १ हजार ४ सय ६७ डलर थियो ।