काठमाडौँ– गत आर्थिक बर्ष २०७६।७७ मा नेपालको कुल निर्यात ०.६ प्रतिशतले बढेर ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको भएको छ । अघिल्लो बर्ष यस्तो निर्यात १९.४ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा गत बर्ष भारत तर्फको निर्यात ११.८ प्रतिशत, चीन तर्फको निर्यात ४३.५ प्रतिशत र अन्य मुलुकहरु तर्फको निर्यात १८.२ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैकले आइतवार जारी गरेको मुलुकको वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा वस्तुगत आधारमा पाम तेल, आयुवेर्दिक औषधी, जडिबुटि, र फलफूल लगायतका वस्तुको निर्यात वृद्धि भएको उल्लेख गरिएको छ । प्रतिवेदनका अनुसार गत आर्थिक बर्षमा नेपालबाट जस्तापाता, पोलिष्टर यार्न, धागो,तयारी पोशाक, ऊनी, गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको जनाइएको छ ।
गत आर्थिक बर्ष २०७६।७७ मा नेपालमा हुने कुल वस्तुको आयात पनि १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाको मात्र भएको छ । जवकि यस्तो आयात गत बर्ष १३.९ प्रतिशतले बढेको थियो । यस अवधीमा भारत चीन र अन्य मुलुकहरुबाट हुने आयात घटेको हो । गत बर्षको नेपालको कुल वस्तु व्यापार घाटा अघिल्लो बर्षको तुलनामा १६.८ प्रतिशतले खुम्चिएर १० खर्ब ९९ अर्ब ९ करोडमा झरेको छ । गत बर्षको निर्यात आयातको अनुपात ८.२ प्रतिशत पुगेको थियाे ।