हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको जिम्मेवारी पुरा गर्न कुनै कसर बाकी नराख्ने बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरोको बिषयमा भएको छलफलमा मुख्यमन्त्री पौडेलले तिनै तहको सरकारले गर्ने काम बाँडफाड गरेर आफ्नो तहको सरकारले गर्ने काम पुरा गर्ने बताउनुभयो ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित बिपद ब्यबस्थापनका लागि सरोकारवालाबिच छलफल भएको थियो । छलफलमा मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आफु पुगेको र त्यस क्षेत्रको स्थिति अत्यन्तै दयनीय रहेको बताउनुभयो । सबै तिर धुजाधुजा भएर फाटेको र चर्केका जमिन, पाल टाँग्ने समेत ठाँउको अभाव रहेको सन्दर्भमा त्यहाँको बस्ति स्थानान्तरणको काम प्रदेश सरकारसङ्गै सङ्घीय र स्थानीय सरकारको पनि समन्वय र सहकार्य जरुरी रहेको स्पष्ट पार्नुभयो । उहाँले बस्ती स्थानान्तरण गर्दा रोजगारीको समेत ग्यारेन्टी गरि हुन जरुरी रहेको बताउनुभयो । सिन्धुपाल्चोक जिल्लामा तिनै तहबाट जाने बजेटमा बस्ती स्थानान्तरणका लागि निश्चित बजेट छुट्टाएर कार्यान्वयनमा लैजानु पर्ने बताउनुभयो ।

छलफलमा गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पुर्वाधार मन्त्री बसन्त नेमवाङ,बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, संघीय सरकारका पुर्वमन्त्री शेर बहादुर तामाङ,भौतिक मन्त्रालयका सचिव, राष्ट्रिय पुननिर्माण र बिपद ब्यबस्थापनका प्रतिनिधिहरु प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु एबम सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।