सांकेतिक तस्विर

वीरगन्जमा आज थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नं. ५ रेशमकोठी निवासी होटेल व्यवसायी ६८ वर्षीय सुनिल विश्वास र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराई रहेका ७० वर्षीय एक वृद्धको कोरोना संक्रमण्को कारण मृत्यु भएको पुष्टि नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले गर्नु भएको छ ।

विश्वासको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको थियो भने नेशनल मेडिकल कलेजमा उपचार गराई रहेका वृद्धको आज बिहान ३ बजे मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भयो । दुवै जनाको आज नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा कोरोना सङ्क्रमणको पोजेटिभ रिपोर्ट आएको थियो । तीमध्ये नेसनल मेडिकल कलेजमा आज बिहान मृत्यु भएका पुरुषको अहिले साँझ रिपोट आएको र उनको पनि कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको पुष्टि भएको उपाध्यायले बताउनुभयो । वीरगन्ज गहवा निवासी ७० वर्षीय वृद्धलाई गत आइतबार पखाला लागेपछि उपचारको क्रममा अस्पताल भर्ना गरिएको थियो । मिर्गौला रोगी समेत रहेका उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

त्यसै गरी विगत ६ दिनदेखि अस्थायी कोभिड गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका होटेल व्यवसायी सुनिल विश्वास पनि मुटु रोगी रहेको र उनलाई ४ दिन देखि अस्पतालको आइसियु कक्षमा राखेर उपचार भई रहेको अवस्थामा आज मृत्यु भएको अस्थायी कोभिड अस्पतालका डा. नीरज सिंहले बताउनुभयो । दुवै मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो । पर्सामा विगत एक साता यता एक भारतीय नागरिक सहित ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको डा. उपाध्यायले बताउनुभयो ।

अस्थायी कोभिड गण्डक अस्पतालको आइसियुमा अझै ४ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको र उनीहरूको आइसियुमा उपचार भई रहेको डा. नीरज सिंहले बताउनुभयो ।