मकवानपुर– बागमती प्रदेश प्रहरी कार्यालयले आर्थिक प्रलोभनमा पर्ने चारजना प्रहरीलाई निलम्बन गरेको छ । आर्थिक प्रलोभनमा परी दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने चार जना प्रहरी कर्मचारीहरुलाई आज निलम्बन गरीएको हो ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको विशेष टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई गत सोमबार नियन्त्रणमा लिएको थियो । उनीहरुलाई बुधबार निलम्बन गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता सुदीप गिरिले जानकारी दिनुभएको छ । निलम्बनमा पर्नेमा प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी रहेका छन् । सवारी चालकसँग विभिन्न बहानामा रकम लिँदै गरेको अवस्थामा भेटिएका ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी जवान अजय महत्तो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्ष्मण कुमार महत्तोलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरिएको छ । आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरी कार्यालयले बिशेष अभियानकै रुपमा संचालन गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स समेत गठन गरीएको छ ।