अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रिय गौरवका आयोजनाहरूका लागि स्रोतको कमी हुन नदिइने बताउनुभएको छ । संसद्को राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा अर्थमन्त्री डा.खतिवडाले मुलुकको समृद्धिसँग जोडिएको राष्ट्रिय गौरवका आयोजनाहरूलाई अझ बढी महत्वकासाथ अगाडी बढाउन आग्रह गर्दै त्यस क्रममा थप आवश्यक पर्ने हरेक किसिमको स्रोत व्यवस्थापन गर्न सरकारपछि नहट्ने बताउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले आयोजनाहरूको कार्यान्वयन गर्दा घरबारविहीन तथा भूमिहीन बन्न पुगेकालाई सरकारले पुन बासको ब्यस्था मिलाउने बताउनुभयो । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले आयोजनाहरूको कार्यान्वयन गर्ने क्रममा मन्त्रालय मन्त्रालयबीचको समन्वयलाई प्रभावकारी ढङ्गले अगाडी बढाउनुपर्ने बताउनुभयो । मन्त्रालय मन्त्रालयबिच समन्वयको अभावमा काम गर्दा राज्यलाई कतिपय स्थानमा दोहोरो तेहोरो खर्चको भार परिरहेको स्मरण गराउँदै उपाध्यक्ष डा. कँडेलले योजना बनाउँदै गर्दा त्यस्ता सम्बन्धित पक्षसँग संवाद गरेर अगाडी बढ्दा उपयुक्त हुने बताउनुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र बन मन्त्रालयका सचिवहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनको अवस्था र समस्याहरूबारे जानकारी गराउनुभएको थियो । बैठकमा सांसदहरुले मुलुकको समृद्धिसँग जोडिएको राष्ट्रिय गौरवका आयोजनाहरुका्े प्रभावकारी कार्यान्वयन र गुणस्तरमा अझ बढी जोड दिनुपर्ने बताउनुभयो । सांसदहरुले गौरवका आयोजनाहरूलाई गौरवकै रूपमा अगाडी बढाउनुपर्ने नत्र नाम अनुसारको काम नहुँदा त्यसरी नाम दिएर काम गर्नुको औचित्य नरहने भएकाले नाम अनुसारको काममा जोड दिनुपर्ने माग गर्नुभयो । बैठकमा सांसदहरू जीवन बुढा, कोमल वली, दीपा गुरुङ, रामचन्द्र राई, अनिता देवकोटालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।