सरकारले नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुटेकालाई आगामी दुई वर्षसम्म निवेदन दिन सक्ने व्यवस्था गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मालपोत नियमावली, २०३६ को नियम चार (क) को उपनियम एक बमोजिम सूचना राजपत्रमा प्रकाशन गर्न स्वीकृत दिने निर्णय गर्दै यो व्यवस्था गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको जग्गा दर्ता गर्न छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद राजपत्रमा सूचना प्रकाशन भएको मितिले दुई वर्षसम्म दिन पाउने व्यवस्था गरेको हो । यस्तै कार्यालयमा यस अघि नै निवेदन दिएर फर्छ्यौट हुन बाँकी रहेका पुराना निवेदन फर्छ्यौट गर्ने म्याद राजपत्रमा सूचना प्रकाशन भएको मितिले दुई वर्षसम्म तोकिएको छ ।