हेटाैंडा– आज थप २ सय ७ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज २ सय ७ जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको जानकारी दिनुभयो । हाल सम्म कूल संक्रमितको ७० दशमलव १ प्रतिशत संक्रमित निको भई घर फर्किएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज ३ हजार ७ सय ७९ वटा नमूनाको रियाल टाईम पिसीआर विधिबाट परीक्षण गर्दा थप एक सय जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा ५ हजार ३ सय ६८ जना सक्रिय संक्रमितको उपचार भईरहेको छ ।
यसैगरी आज थप २ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या ४२ पुगेको छ । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनुषाका ६० वर्षीय पुरूष र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ४९ वर्षीया चिनीयाँ महिलाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।