मकवानपुर– मकवानपुरमा राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा बिहीबार औद्योगिक सर्वेक्षण सम्बन्धी उदेश्य र महत्व सम्बन्धी गोष्ठीमा फागुनको दोस्रो साताबाट छैठौं राष्ट्रिय औद्योगिक सर्वेक्षण सुरु भएको तथ्यांक कार्यालय मकवानपुरले जनाकारी दिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खुलालले औद्योगिक क्षेत्रले मुलुकको समग्र अर्थतन्त्रमा योगदान पु¥याउने हुनाले सत्य र सहित तथ्याङक संकलन गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । देशको योजना निर्माणमा तथ्याङकको महत्वपुर्ण योगदान हुने भएकाले औद्योगिक सर्वेक्षण सफल बनाउन सबैलाई लाग्न आग्रह समेत गर्नुभयो । उहाँले तथ्याङ्क मिथ्याङ्क नबनोस भन्ने तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभएको हो । औद्योगिक क्षेत्रले मुलुकको समग्र अर्थतन्त्रमा पु¥याएको योगदान, औद्योगिक क्षेत्रले सिर्जना गरेको रोजगारी, औद्योगिक क्षेत्रमा भएको मूल्य अभिवृद्धि, औद्योगिक प्रतिष्ठानको अवस्था पहिचान एवं तथ्यांक अद्यावधिक गर्ने उद्देश्यका साथ राष्ट्रिय औद्योगिक सर्वेक्षण सुरु भएकोले यसले आगामी दिनमा संघीय, प्रदेसीक र स्थानीय हतलाई पनि योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तथ्यांक कार्यालय, मकवानपुरका प्रमुख तथ्यांक अधिकृत राजेश दासले राष्ट्रिय औद्योगिक सर्वेक्षणको ऐतिहासिक पृष्ठभूमी, औद्योगिक सर्वेक्षणका मूख्य उद्देश्य, सर्वेक्षण विशिष्ट उद्देश्यलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सर्वेक्षण प्रत्येक दश वर्षको अन्तरालमा हुँदै आएकोमा यसपटकको सर्वेक्षण विगतभन्दा पृथक एवं विशेष हुने प्रमुख तथ्यांक अधिकृत दासले बताउनुभयो । तथ्यांक कार्यालय, मकवानपुरले मकवानपुर र धादिङमा औद्योगिक सर्वेक्षण गरिरहेको उहाँले जानकारी दिनुभयो । मकवानपुरमा ३४० वटा र धादिङमा २१७ गरी ५५७ वटा सर्वेक्षणमा परेका उद्योग प्रतिष्ठानहरू रहेका छन् । प्रमुख दासकाअनुसार दशभन्दा बढी कामदार भएको उद्योगको गणना हुनेछ भने सोभन्दा कम कामदार भएका उद्योगको सर्वेक्षण हुनेछ । सर्वेक्षणका लागि ५ जना गणकलाई खटाइएको उहाँले जानकारी दिनुभयो ।
देशभर आव २०७५÷७६ मा संचालनमा रहेका साना तथा ठूला सवै उद्योग प्रतिष्ठानहरूको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन, प्रकाशन तथा वितरण गर्ने र अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान मापन गर्नुका साथै नीति निर्माता, योजनाविद्, उद्योगपति, अनुसन्धानकर्ता तथा अन्य प्रयोगकर्ताहरूलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध गराउनु सर्वेक्षणको मूख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले सर्वेक्षणलाई पहिलो एकीकृत र बृहत राष्ट्रिय औद्योगिक सर्वेक्षणको रुपमा लिइएको जानकारी दिनुभयो । औद्योगिक गणना तथा सर्वेक्षणबाट आएको तथ्यांकका आधारमा सरकारलाई औद्योगिक नीतिनिर्माणमा सहज हुनुको साथै उद्योगी, व्यवसायीलाई औद्योगिक क्षेत्रका अवसर र चुनौतीका बारेमा जानकार बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । नेपालमा पहिलोपटक औद्योगिक गणना २०२२ सालमा भएको थियो भने यो ११ औँ गणना हो ।
औद्योगिक सर्वेक्षणमा पहिलोपटक तीन क्षेत्र समावेश
राष्ट्रिय औद्योगिक सर्वेक्षणमा औद्योगिक क्षेत्रका चारमध्ये थप तीनवटा क्षेत्रलाई पहिलोपटक समावेश गरिएको छ । औद्योगिक क्षेत्रको रूपमा विश्वव्यापी मान्यता पाइसकेका ‘खानी तथा उत्खनन्, विद्युत् उत्पादन, प्रसारण तथा वितरण र पानीको आपूर्ति, ढल निकाबहस, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलाप’ जस्ता क्षेत्रलाई नेपालले पहिलोपटक औद्योगिक सर्वेक्षणमा समावेश गरेको तथ्याङ्क अधिकृत दासले बताउनुभयो । सर्वेक्षणमा पहिला नसमेटिएका तीन क्षेत्रहरूमा विस्तारै लगानी, रोजगारी सृजना बढ्दै गएको र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा योगदान दिन सक्ने सम्भावनामूलक क्षेत्र भएकाले सर्वेक्षणमा समेटिएको उहाँले बताउनुभयो ।
२०२२ सालदेखि ठूला उद्योगहरूको औद्योगिक गणना शुरू गरेको तथ्यांक विभागले त्यसको साढे ५ दशकपछि एकीकृत रूपमा चारओटै क्षेत्रलाई समावेश गरेको छ । यसभन्दा पहिला ‘उत्पादनमूलक’ क्षेत्रलाई मात्रै समेटेर केन्द्रीय तथ्यांक विभागले औद्योगिक सर्वेक्षण तथा गणना गर्दै आएको उहाँले जानकारी दिनुभयो । योसँगै नेपालले पनि संयुक्त राष्ट्र संघ (यूएन)को औद्योगिक विकास निकाय (यूएनआइडीओ)ले स्थापित गरेका सबै औद्योगिक क्षेत्रलाई कार्यान्वयनमा ल्याएको दासले बताउनुभयो ।
नेपालले हालसम्म विभिन्न समयमा गरी १० पटक ठूला उद्योग तथा प्रतिष्ठानको गणना सम्पन्न गरिसकेको छ पछिल्लो पटक विभागले ठूला उद्योग तथा प्रतिष्ठानको सर्वेक्षण २०६९ सालमा गरेको थियो भने सानाको २०६६ मा गरेको तथ्याङ्क अधिकृत दासले बताउनुभएको छ । कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका राजेश धिताललगायत मकवानपुरका विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, उद्योग प्रतिष्ठानका प्रतिनिधि तथा विभिन्न संघ÷संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।