मकवानपुर– मकवानपुरको पुर्वी क्षेत्रमा २०७२ सालको भुकम्पबाट क्षती भएका निर्माणाधिन विद्यालयहरुको मंगलबार स्थलगत अनुगमन गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को सञ्योजनमा पुर्वी मकवानपुरको हटौंडा उपमहानगरपालिका तथा बकैया र बागमती गाउँपालिकामा निर्माणधिन विद्यालयहरुमा अनुगमन गरिएको हो ।

मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठकलगायतको टोलीले अनुगमन गर्नुभएको हो । टोलीले हेटौंडा– १७ स्थित बालबोध माविको निर्माणाधिन चारकोठे भवन, बकैया गाउँपालिका स्थित प्रभात माविको चार कोठे भवन, बागमति गाउँपालिका स्थित बागमती मावि राईगाउँको शौचालय निर्माण, सुर्य मावि माझगाउँको चारकोठे भवन र शौचालय निर्माण, भैसेश्वर प्रावि राइगाउँको शौचालय निर्माण, महाबुद्ध आधारभुत विद्यालय झुरझुरेको चारकोठे भवन निर्माण, देवकी मावि लिलादमारको गतवर्षको चारकोठे भवनलगायत अन्य अन्य शैक्षिक कार्यक्रमहरुको अनुगमन गर्नुभएको हो ।
त्यस्तै टोलीले पालिकाहरुमा पुनर्निर्माण, शान्ति सुरक्षा, विकास निर्माणलगायत अस्थिाका बारेमा बकैया र बागमती गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष एवम् कर्मचारीहरुसंग छलफल समेत गरेको थियो । भने पुर्वी क्षेत्रमा रहेका ईलाका प्रहरी कार्यालय र प्रहरी चोकीहरुको अवस्थाका बारेमा समेत जानकारी लिएको थियो । यस्तै टोलीले बागमती खोलामा निर्माणाधिन पुल र स्वास्थ्य कार्यालयहरुमा समेत अनुगमन गरेर आवश्यक निर्देशन दिएको छ । टोलीमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर दिनेशकुमार यादव, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको सहभागिता थियो ।

जिल्लाका कुल ५१६ विद्यालय मध्ये २०७२ सालको भुकम्पका कारण क्षती भएका ४०९ विद्यालय मध्ये हालसम्म जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत विद्यालय व्यवस्थापन समितिसंग सम्झौता गरी आ. व. २०७३/०७४ मा ६८, आ. व. २०७४/०७५ मा ६८, आ. व. २०७५/०७६ को (प्रथम चरणमा ६५ र दोश्रो चरणमा ५१, तथा ७० शौचालय निर्माण सम्पन्न भएको साथै आ. व. २०७६/०७७ मा १४ विद्यालयमा खानेपानी व्यवस्थापन तथा ९ विद्यालयमा शौचालय कार्यक्रम प्राप्त भएको एवम् ६१ विद्यालय भवन, ७० शौचालय र ७० खानेपानी कार्यक्रम थप भएर कार्यान्वयनकाे चरणमा रहेकाे जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख पाठकले जानकारी दिनुभयो ।

पाठकका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत आ.व. २०७३/०७४ देखि आर्थिक वर्ष २०७५/०७६ को दोश्रो चरणसम्म जिल्लामा प्राप्त कुल २५२ भवनको ७९३ कक्षाकोठामध्ये हालसम्म २५१ भवनको ७८९ कक्षाकोठा र ७० वटा शौचालय पूर्णरुपमा निर्माण सम्पन्न भैसकेको छ । साथै जाइकाकाे ऋण सहयाेगबाट निर्माण हुदै गरेका जम्मा ४१ विद्यालयमध्ये २७ विद्यालयको २७८ कक्षाकोठा निर्माण सम्पन्न भई हस्तान्तरण भैसकेको र १४ विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेका छन् । यस्तै एसीयाली विकास बैंककाे नमूना विद्यालय तर्फ एउटा ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भएको र अघिल्लाे आर्थिक वर्षदेखि ३ वटा विद्यालयको ४८ कक्षाकोठा निर्माण कार्य मध्य अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयाे । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवन, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत यस वर्ष निर्माण कार्य अगाडि बढेको छ । हालसम्म तीनवटै मोडालिटीबाट कूल ३०५ विद्यालयको १२२६ कक्षाकोठा निर्माण सम्पन्न भइ प्रयोगमा आएको साथै जापान सरकारको ऋण सहयोगमा हालै ११ विद्यालयका १३२ कक्षाकोठा निर्माणका लागि टेण्डरको प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयाे ।
अनुगमनका फाेटाेहरू