मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले गरेका कामको नतिजा देखिन थालेको बताउनुभएको छ । प्रदेश सरकार गठन भएपछि प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका ३२ वटा पुरको आज एक साथ उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले गरेका कामको नतिजा देखिन थालेको बताउनुभएको हो ।

मुख्यमन्त्री पाैडेलले सरकारले काम गरेन भन्नेहरुलाई गाउँमा गएर विकासका बारेमा बुझन् आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो– “प्रदेश सरकारले काम गरेन भन्नेहरुले विकट बस्तीहरुमा गएर सोध्नुस्, बुझ्नुस, अनि हेर्नुस प्रदेश सरकारले के–के काम गरेको छ ।” मुख्यमन्त्री पोडेलले प्रदेश सरकारले आफ्नो कामलाई निरन्तर अघि बढाईराखेको भन्दै अब गरका कामको नतिजाहरु देखिन थालेको बताउनुभयो । उहाँले प्रदेश सरकारले गरेका कामहरु देखिन थालेको र जनताले त्यसको महसुर गर्दै गएको समेत बताउनुभयो । संघीयतामा जनताले विकासको अनुभुति गर्ने गरि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले सबैको सकारात्मक पहलबाट नै प्रदेश सरकारले उपलब्धी हाँसिल गर्न सम्भव भएको भन्दै विकास र समृद्धिका लागि सबैको सकारात्मक पहल र सहभागिता जरुरी रहेको समेत बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सरकार सरकार गठन भएपछि हालसम्म प्रदेशका विभिन्न जिल्लामा ती पक्की पुल निर्माण गरेको जानकारी दिईएको छ । ३२ वटा मध्ये स्टिल ट्रस बृज २ वटा, सस्पेन्सन बृज २ वटा, स्टिल प्लेट गर्डर ४ वटा, आर. सी. सी. बिम १७ वटा र आर. सी. सी. बक्स ७ वटा रहेका छन् । सम्पन्न पुलको कुल लम्बाई ९९२ दशमलव ९० मिटर रहेको र ३२ वटा पुल निर्माणमा कुल ७३ करोड ६७ लाख ४३ हजार लागत लागेको जानकारी दिईएको छ । निर्माण सम्पन्न पक्की पुल मध्ये पूर्वाधार विकास कार्यालय ललितपुरले ६ वटा, पूर्वाधार विकास कार्यालय काभ्रेले ६ वटा, पूर्वाधार विकास कार्यालय चितवनले ५ वटा, पूर्वाधार विकास कार्यालय नुवाकोटले ४ वटा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले ९ वटा र पूर्वाधार विकास कार्यालय रामेछापले २ पक्की पुल निर्माण सम्पन्न गरेको जानकारी दिईएको छ ।

त्यस्तै कार्यक्रममा बागमती प्रदेशले निर्माण सम्पन्न गरेका ३२ सडकपुल बाहेक प्रदशेमा अन्य १२० वटा पक्की पुल तथा १३ वटा झोलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको समेत जानकारी दिईएको छ । बहुवर्षीय योजनाका रुपमा केन्द्र सरकारको अनुदानमा ६३ वटा पक्की पुल र प्रदेश सरकारको लगानीमा ५७ वटा पक्की पुल निर्माण भईरहेको जानकारी दिईएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा पुल क्षेत्रमा करीब १ अर्ब बजेट विनियोजन गरेको समेत जानकारी दिईएको छ । बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, जुनेली श्रेष्ठ, सन्त बहादु चेपाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, कबवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पाबर्ती राना, मनत्रालयका सचिवलगायत कर्मचारीहरुको उपस्थिती थियो ।