देशका पश्चिमी र पूर्वी क्षेत्रका केही ठाउँमा यतिबेला पानी परिरहेको मौसमविद्ले बताएका छन् । पश्चिम र पूर्वका धेरै ठाउँमा वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार पश्चिममा पश्चिमी वायूको प्रभावले वर्षा भएको हो भने पूर्वमा मनुसुनी वायूको प्रभावले वर्षा भइरहेको हो ।
बर्दियाका केही ठाउँमा ठूलो वर्षा भएको पनि उहाँले जानकारी दिनुभयो । आज प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । आज पनि धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । नेपालमा हरेक वर्ष बाढी पहिरो र डुवानका कारण झण्डै दुई सय जनाको ज्यान जाने गरेको सरकारी तथ्याङक छ ।
यसपालिको मनसुन पोहोरको भन्दा अझ सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम झन् धेरै भएको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी क्षेत्रमा सक्रिय रहेको मनसुन आज मध्य क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको पनि मौसमविद् सजिना शाक्यले बताउनुभयो ।











