चीनमा कोरोना भाइरस (कोभिड–१९) का थप ४९ संक्रमित भेटिएका छन्। आइतबार चीनका विभिन्न स्थानमा नयाँ संक्रमित भेटिएका हुन् । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार संक्रमितमध्ये ३९ जना स्थानीय रूपमै संक्रमित भएका हुन्। स्थानीय रूपमा संक्रमित भएकामध्ये ३६ जना बेइजिङ र अन्य ३ जना हुबेइ प्रान्तमा रहेका छन्। 

यससँगै चीनमा हालसम्म ८३ हजार १८१ मा संक्रमण पुष्टि भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले उल्लेख गरेको छ। त्यस्तै ४ हजार ६३४ को ज्यान गएको छ। साथै ११२ जनाको उपचार भइरहेको छ । गत डिसेम्बरको अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म विश्वभर ७९ लाख बराबर संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ३७ लाख ६८ हजार ९०१ निको भइसकेका छन्। त्यस्तै ४ लाख ३३ हजारको ज्यान गएको छ ।