हेटौंडा, माघ १२ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ मा उम्मेदवारी दिएका महेश बर्तौलाले १०४ वर्षीया कालिमाया मोक्तानको हातबाट आर्शिवाद लिएर चुनावी अभियान सुरु गरेका छन् । नेकपा एमालेको तर्फबाट मकवानपुुर–२ मा उम्मेदवारी दिएका बर्तौलाले सोमबार ९आज० बिहान हेटौंडा उपमहानगरपालिका–३ बसामाी स्थित जम्बु चौतारीमा बस्दै आएकी कालिमायाको हातबाट आर्शिवाद ग्रहण गरेर चुनावी अभियान सुरु गरेका हुन् ।
राक्सिराङ गाउँपालिका स्थायी घर भएकी कालिमाया र उनका परिवार अस्थायी रुपमा बसामाडीमा बस्दै आएका छन् । १०४ वर्षकी कालिमायाले बर्तौलालाई टीका, माला र खादा लगाउँदै जीतको शुभकामना दिइन् । आफ्नै हातले दही खुवाउँदै उनले जितेर सांसद र मन्त्री बन्नु भन्दै आर्शिवाद दिइन् ।
जिउँदो भगवानको रुपमा रहेको जेष्ठ नागरिक आमाको हातबाट आर्शिवाद ग्रहण गरेर पार्टीको औपचारिक चुनावी कार्यक्रमको अभियान जम्बु चौतारीबाट गरिएको बर्तौलाले बताए । उनले २०७९ को निर्वाचनमा विजयी गराएर पठाएपछि निर्वाचन क्षेत्र र सिंगो मकवानपुरको लागि विभिन्न विकासका योजनाहरु ल्याउन सफल भएको बताए । सांसद निर्वाचित भएर काम गरिरहँदा ३२ महिनामै संसद विगठन भएपश्चात् काम गर्न बाँकी योजनाहरु पूरा हुन नसकेको बताए । ती योजनाहरु पूरा गर्नका लागि दोस्रो पटक अवसर दिनु बर्तौलाले आग्रह गरे ।
यस्तै, कार्यक्रमा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले देश जलाउनेहरु विरुद्धको चुनाव भएको कारण सोचेर देश बनाउनेहरुलाई मतदान गर्नुपर्ने बताए । देश बनाउने पार्टी अरु कुनै नभएर नेकपा एमाले नै भएको कारण देश बनाउने पार्टीका उम्मेदवारलाई बहुमतको साथ विजय गराउनैपर्ने महत्वपूर्ण चुनाव भएको बताए । ‘पछिल्लो समय गाउँ बस्तीमा नकारात्मक भ्रमहरु सिर्जना भैरहेका छन्, लामाले भने, ‘राज्यको सम्पत्तिमा आगो लगाएर, राज्यको सम्पत्ति खर्च हुनेगरी ३२ महिनामै प्रतिनिधि सभालाई विगठन गर्ने काम भयो । यसको कारण को हो रु तँपाई हामी सबैले चिनेका छौँ । त्यसैले मत दिनुअघि सोचेर मात्रै मतदान गरौँ ।’
नयाँ दल भनेर मतदातामा भ्रम फैलाए पनि विकासका कामहरु सबै पूराना दलले गरेको लामाले बताए । एमालेका युवा, शिक्षित, शालिन र देशभक्त युवा उम्मेदवारलाई जिताएर मकवानपुर–२ मा आफ्नो अधिकार सुनिश्चित गर्न लामाले अनुरोध गरे ।
नेकपा एमालेकी केन्द्रीय सदस्य भारती पाठकले बर्तौलाले गत निर्वाचनमा निर्वाचित भएर गएपछि गरेका कामहरु, सदनमा उठाएका आवाजलाई आधार मानेर मतदान गर्नुपर्ने बताइन् । मकवानपुरका समस्यालाई संघीय संसदमा उठाएर केन्द्रीय स्तरमै ध्यानाकर्षण गराउन सक्ने सक्षम उम्मेदवार एमालेले अघि बढाएको कारण यो पटक मकवानपुर–२ मा बर्तौला बाहेक अरुलाई मत दिन नहुने बताइन् ।
औपचारिक उद्घाटन पश्चात् अब चुनावी भेटघाटलाई तीव्रता दिइने बर्तौलाले बताए । निर्वाचन कार्यालयको निर्देशन अनुसार फागुन ४ अघि कुनै सभा, समारोह, आमसभा जस्ता कार्यक्रम भने नगर्ने उनको भनाइ छ । बर्तौला २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट पाँच दलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।