मकवानपुर,असार १९ — सुरक्षित आप्रवासन परियोजना (सामी) मकवानपुरले चालू आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा वैदेशिक रोजगारीका लागि महिलाको संख्या बढेको जनाएको छ। चैत महिनासम्म मकवानपुरबाट ३ हजार महिलाले वैदेशिक रोजगारीका लागि विदेशिएको तथ्यांक सार्वजनिक गरिएको छ ।
सामी परियोजनाकी संयोजक अञ्जिता थापा मगरले चालू आर्थिक वर्षको चैतसम्म मकवानपुरबाट ८ हजार २५७ पुरुष र ३ हजार महिला गरी जम्मा ११ हजार २ सय ५७ जनाले श्रम स्वीकृति लिएर विदेशिएको बताउनुभयो। यद्यपि पुरुषको संख्या बढी भए पनि महिलाको संख्या गत वर्षको तुलनामा बढी बढिरहेको छ।
परियोजनाले चालू आर्थिक वर्षमा ७ हजार २ सय ६६ जनालाई सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारी दिएको छ। तीमध्ये ८७ प्रतिशतले वैदेशिक रोजगारीलाई आफ्नो उद्देश्य बनाएको छ।
सामीले सुचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोवैज्ञानिक परामर्श, वित्तीय साक्षरता लगायतका सेवा प्रदान गर्दै आएको छ। चालू आर्थिक वर्षमा १३३ वटा वैदेशिक रोजगारसम्बन्धी घटनाहरू रिपोर्ट भएका छन्, जसमा ४७ वटा समाधान भएका छन्। ठगीसम्बन्धी ५३ घटनामध्ये ३२ घटना समाधान भई पीडितलाई १५ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गरिएको छ।
सामी संयोजक मगरका अनुसार, विदेशमा मृत्यु हुने कामदारको परिवारलाई १० लाख रुपैयाँ, दुर्घटना वा बिरामी परेका कामदारलाई ७ लाख रुपैयाँ दिने व्यवस्था छ। वैदेशिक रोजगारीका लागि मकवानपुरका अधिकांश कामदार संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएशिया, रोमानिया, जापान, कोरिया र बहराईन जस्ता देशहरूमा जाने गरेका छन्।
सामी परियोजनाका फोकल पर्सन भीम प्रसाद तिमल्सिनाले वैदेशिक रोजगारीमा जाने कामदारले ठगी, सुरक्षा जोखिम, मानसिक तनाव र अन्य चुनौतीहरू भोग्नुपरेको बताए। मकवानपुरमा हाल ६ जना मनोपरामर्शदाता मार्फत मनोपरामर्श सेवा दिइरहेको छ र यस वर्ष ८७ जनाले मनोपरामर्श लिएका छन्। वैदेशिक रोजगारीका अवसरसँगै जोखिम र चुनौतीहरू बढ्दै गएकोले सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न थप कदम चाल्न आवश्यक छ।











