हेटौँडा । मकवानपुर प्रहरीले १ सय ६८ किलो अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो साढे ३ बजेको समयमा कैलाश गाउँपालिका–९, ठूलोबारीका ५५ वर्षीय अर्जुन रुम्बा घरमा तलासी गर्ने क्रममा सो परिमाणको लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रुम्बाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई गरी राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले रुम्बालाई घरबाटै पक्राउ गरेको छ । रुम्बाले गोठ भित्र घाँस र स्याउलाले छोपेर लागूऔषध गाँजा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमती लिई रुम्बालाई हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।











