निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि पर्यवेक्षण गर्न अनुमति दिएपछि यस पटक कुल ६८ सङ्घ संस्थाका करिब ५ हजार पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गरिरहेका छन् । मौन अवधिअघि, मौन अवधि सुरु भएदेखि मतदानको दिनसम्म र मतदानपछि मतगणना गरी तीन चरणको पर्यवेक्षण गरिरहेका निर्वाचन पर्यवेक्षकहरूले यस पटक यसअघिको भन्दा प्रभावकारी रुपमा निर्वाचन आचारसंहिता पालना भएको जनाएका छन् ।
निर्वाचन आयोगको अनुमतिमा यस पटक कुल ६८ सङ्घ संस्थाहरूमार्फत करिब ५ हजार पर्यवेक्षकले वैशाख ३० गते हुने निर्वाचनको पर्यवेक्षण गरिरहेका छन् । देशव्यापी पर्यवेक्षणका लागि निर्वाचन आयोगले यस पटक अनुमति लिएका संस्थालाई सकेसम्म सबै निर्वाचन स्थलको पर्यवेक्षण गर्न आग्रह गरेको छ । निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस पटकको स्थानीय तह निर्वाचनका लागि अनुमति दिएका प्रत्येक संस्थालाई कम्तीमा ५० वटा मतदान स्थलमा पर्यवेक्षण गर्न भनेको बताउनुभयो । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक), राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) लगायतका निर्वाचनको पर्यवेक्षण गरिरहेका संस्थाहरूले यस पटक निर्वाचन आचारसंहिता पालना अघिल्लो निर्वाचनमा भन्दा प्रभावकारी रुपमा भइरहेको जनाएका छन् ।
आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) लगायत ७ वटा संस्थाको एलायन्सले दिएको प्रारम्भिक प्रतिवेदनमा यस्तो जनाएको हो । आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) का महासचिव कृष्णमान प्रधानले कहीकतै निर्वाचन आचारसंहिताको उलङ्घन भए पनि विगतमा भन्दा निर्वाचन आचारसंहिताको पालना भएको बताउनुभयो । यस्तै राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले पनि आफ्नो देशव्यापी संरचना मार्फत निर्वाचन पर्यवेक्षणका लागि पर्यवेक्षक खटाएको छ । तीन चरणमा विभाजन गरेर निर्वाचन पर्यवेक्षण गरिरहेको नियोकले विभिन्न पक्षहरूको अध्ययन अनुगमन गरेर प्रतिवेदन दिने नियोकका महासचिव देविका तिम्सिनाले बताउनुभयो । नियोगले आफ्नो देशव्यापी संरचना अनुसार उपल्लो मुस्ताङ, ओलङ्चुङगोलासम्म आफ्ना स्थानीय स्वयंसेवीहरूले निर्वाचनको पर्यवेक्षण गरिरहेको जानकारी दिनुभयो । स्थानीय तहमा हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शी बनाउन निर्वाचन आयोगले विगतमा झैँ पर्यवेक्षणको प्रबन्ध गरेको छ । पर्यवेक्षकले निर्वाचनसँग सरोकार राख्ने पक्षसँग निर्वाचनसम्बन्धी विषयमा स्वतन्त्र र निष्पक्ष रूपमा संवाद गर्ने, आयोगले अनुमति दिएको क्षेत्र वा स्थानमा पर्यवेक्षण गर्ने, निर्वाचन प्रचारप्रसार अभियान, निर्वाचनमा लैङ्गिक तथा समावेशिताको अवस्था, मतदाताको निर्बाध आवतजावत, निर्वाचन सामग्रीको ओसारपसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणामसमेतका विषयमा पर्यवेक्षण गर्नेछन् ।