मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी सम्मानीत हुनुभएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १६ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार पुडासैनीलाई सम्मान गरेको हो ।

मकवानपुर जिल्लामा सहकारीको स्थापना र विकासकाका लागि योगदान पु¥याएको भन्दै संघले पुडासैनीलाई सहकारी अभियानकर्मीको रुपमा सम्मान गरेको हो । पुडासैनी भीमफेदी गाउँपालिका–६ स्थित महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी संस्थापक अध्यक्ष हुनुहुन्छ । साे अवसरमा पुडासैनीसंगै हेटौंडा–५ स्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष पूर्णबहादुर खनाललाई पनि सहकारी अभियानकर्मीको रुपमा सम्मान गरिएकाे थियाे । यस्तै संघले साधारणसभाका अवसरमा विभिन्न महिला सहकारीहरु, सहकारी कर्मचारीहरुलगायत अन्य सहकारीहरुलाई समेत सम्मान गरेको थियो ।

सघकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभाको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राधा सिन्तान, जिल्ला सहकारी संघ मकवानपुरका पूर्वअध्यक्ष बद्रिप्रसाद लम्साललगायतको उपस्थिती थियो ।