मकवानपुर — कैलाश गाउँपालिकामा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयन तथा सीप परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा सीप जाने तर प्रमाणपत्र नभएका जनशक्तिको पहिचान र बजारीकरणका विषयमा छलफल गरिएको थियो ।

नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाका प्रदेश प्रबन्धक सुकबहादुर चौधरीले कार्यपत्र प्रस्तुत गर्दै प्राविधिक शिक्षा, तालिमको अवस्था र सीप परीक्षण प्रक्रियाबारे जानकारी दिनुभयो। हालसम्म साढे सात लाखले आवेदन दिएकामा पाँच लाखले प्रमाणपत्र प्राप्त गरिसकेको र तिनीहरूमध्ये ४६.८७ प्रतिशत महिला रहेको जानकारी गराउनुभयो। चौधरीले सीप छ तर प्रमाणपत्र नभएको समस्या रहेको भन्दै युवाको सीपलाई प्रमाणिकरणमार्फत रोजगारसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

अध्यक्ष मुक्तानले पालिकाभित्रका सीपयुक्त जनशक्तिलाई परीक्षणमा सहभागी गराउने प्रतिबद्धता जनाउँदै रोजगार सृजनाका लागि यस्तो पहल आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल, प्रदेश सरकारका प्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्य र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।