मकवानपुर– मकवानपुरको थाहा नगरपालिकामा पनि आज राती १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । थाहा नगरपालिकाले जिल्ला सदरमुकाम हेटौंडा र काठमाडौंमा बढ्दो सङ्क्रमणका कारण जोखिम बढेको भन्दै आज राती १२ बजेदेखि भदौ ९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्न जिल्ला सुरक्षा समितिलाई पत्राचार गरेको थियो । थाहा नगरपालिकाको आग्रह बमोजिम जिल्ला सुरक्षा समितिले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभएको छ ।
थाहा नगरपालिकाले बिहान ९ बजेसम्म खाद्यान्न पसल खोल्न दिने, बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने, बिहान ७ बजेभित्र तरकारी निर्यात गरिसक्नुपर्ने, खेती, किसानी काममा भौतिक दूरी कायम गरी काम गर्न दिने व्यवस्था मिलाएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिनुभएको छ । थाहा नगरपालिकाका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका मध्ये ७ जना कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् भने ३ जना सङ्क्रमित मध्ये एकजना भारतीय नागरिक रहेको र दुईजना थाहा नगरपालिकाका सङ्क्रमित अहिले हेटौंडास्थित आइसोलेसन वार्डमा उपचाररत छन् ।