मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा भोली फागुन ६ गते मंगलबारबाट हुन लागेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

आगामी फागुन १८ गतेसम्म हेटौंडा–१०, टिसीएन चौरमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलले महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुहुने जानकारी दिनुभयो । महोत्सवमा नविनतम निर्माण उपकरण तथा सामाग्रीहरुको वृहत प्रदर्शनी एव्म विक्री, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनी एवं विक्री हुने उहाँले बताउनुभयो । सूचना प्रविधि तथा कृषि उत्पादनको प्रदर्शनी, घरेलु तथा हस्तकला सामाग्रीको प्रर्दशनी एवंम् विक्री, कृषि उत्पादनको प्रदर्शन, महिला उद्यमीद्वारा उत्पादित सामाग्रीहरुको बिक्री वितरण, स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, शैक्षिक, घरजग्गा, अटो, खाना तथा बस्तु र सेवाको प्रदर्शनी एवं विक्री हुने उहाँले बताउनुभयो । महोत्सवमा करिब ३०० वटा स्टलहरु रहने उहाँले बताउनुभयो ।

“स्टल, स्टेज निर्माण र मनोरञ्जनका साधन जोड्ने काम धमाधम भैरहेको भन्दै उहाँले भन्नुभयो, ‘६ गतेबाट हुने महोत्सवको तयारी धमाधम भैरहेको छ । हालसम्म करिब ८० प्रतिशत तयारी सम्पन्न भएको छ’, उहाँले भन्नुभयो । निर्माण व्यवसायी संघ मकवानपुरको भवन जीर्ण भएकोले नयाँ भवन निर्माणका लागि आर्थिक जोहो गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामग्रीको प्रदर्शनी र विक्रीलाई जोड दिइने आयोजकले बताएको छ । महोत्सवको माध्यमबाट निर्माण सामग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्क हुने र यसबाट व्यवसाय वृद्धिसँगै उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धा हुने अध्यक्ष कंडेलले विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा हेटौंडा आईडल प्रतियोगिता, स्थानीय कलाकारहरुले प्रस्तुती र चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।
महोत्सवमा चर्चित कलाकारहरु सुगम पोखरेल, राजु लामा नेतृत्वको मंगोलियन हार्ट ब्याण्डको प्रश्तुती रहने आयोजकले बताएको छ । यस्तै चर्चित कलाकारहरु पशुपति शर्मा, दुर्गेश थापा, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, विश्व दोङ, अस्मिता अधिकारी, उर्गेन दोङ, कमल खत्री, शान्तिरानी परियार, रमेशराज भट्टराई, जिबब, पुस्कल शर्मा, राजु परियार, ज्योति मगर, हेमन्त शर्मा, प्रिति आले लगायतको प्रश्तुती रहने आयोजकले जानकारी दिएको छ । ‘प्रत्येक दिन ३ देखि ५ जना राष्ट्रिय कलाकारहरुको विशेष सांगीतिक प्रश्तुती रहनेछ’, महोत्सवको प्रचारप्रसार समितिका संयोजक समेत रहेका संघका उपमहासचिव सुरज बर्तौलाले भन्नुभयाे, ‘महोत्सवलाई सफल बनाउनका लागि आयोजकको तर्फबाट सबै प्रयास गरिरहेका छौं ।’











