हेटौंडा । आज शहीद दिवस । प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा हेटौंडाको शहिद स्मारमा कार्यक्रम गरिएको छ । बागमती प्रदेश सरकारको आयोजनामा शहीद दिवसका अवसरमा ढुङ्गामा कुदीएको शहीद स्मृति स्तम्भमा माल्यार्पण गर्दै शहिद दिवस मनाइएको हो ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्मा, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो । विसं २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्झनामा माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरिन्छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा हरेक माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहुति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ ।