मकवानपुर – हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा नेपाल पुलिस क्लब अन्तिम आठमा प्रवेश गरेको छ । आईतबार भएको खेलमा खुमलटार युवा क्बललाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम आठमा प्रवेश गरेको हो ।
हेटौंडा–५, स्थित क्याम्पा रंगशालामा आईतबार भएको दोस्रो खेलको पहिलो हापको ३ मिनटमै पुलिसका लागि अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३५ मिनेटमा पुलिसका भरत शाहले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८५ औं मिनेटमा खुमलटारका लागि अजित लामाले गोल सान्त्वना गोल गरे पनि जितको लागि पर्याप्त हुन सकेन । खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस छत्याल घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । जित संगै पुलिसले अब २४ गते अन्तिम आठमा विभागिय टोली मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।
यस अघि आजै बिहान भएको पहिलो खेलमा नेपाल एपीएफ फुटबल क्लबले नेपाल फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित निकालेको थियो । हिजो भारी वर्षाका कारण पिप्ले–क्याम्पा रंगशालाको खेल मैदान जलमग्न भएपछि खेल आज बिहान खेलाईएको थियो । खेलको म्यान अफ द म्याच एपीएफका प्रदीप लामा घोषित हुँदै नगद दश हजार पाएका छन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा मकवानपुरका स्थानीय तहहरुको प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।