मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा हुन लागेको सातौं संस्करण बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ देखि हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिले यसअघि फागुन १ देखि गर्ने भनेको प्रतियोगिताको तयारी नपुगेको हुँदा फागुन ३ देखि हुने आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले आयोजककै अनुरोधमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको मिति संशोधन गरेको जानकारी दिनुभयो । पालिकाको मुख्य सहयोगमा हुन लागेको प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गर्नुहुने उहाँले बताउनुभयो । अध्यक्ष थिङले छैठौं संस्करणको गोल्डकप प्रतियोगिता फापरबारीको जनता माध्यमिक विद्यालयको खेलमैदानमा भएकोमा सातौं संस्करणबाट गाउँपालिकाले यसैवर्ष निर्माण गरेको प्यारापिटसहितको खेलमैदान शहीद स्मृति रंगशालामा हुने बताउनुभयो ।
अध्यक्ष थिङले ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका र बागमती युथ क्लब सर्लाहीको टिमबीच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरु मछिन्द्र, थ्रिस्टार, त्रिभुवन आर्मी, संकटा, एपिएफ, हिमालयन शेर्पा र चर्च ब्वाईज तथा हनामी एफसी चितवन, बागमती युवा क्लब सर्लाही र आयोजकको टिम सहभागि हुने बताइएको छ । मछिन्द्र क्लब गत वर्षको उपाधि विजेता टिम हो, भने सशस्त्र प्रहरी बलको एपीएफ उपविजेता हो ।
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख तथा उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै म्यान अफ द म्याचलाई दश हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने जनाईएको छ । कुल ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि गाउँपालिकाबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त हुने प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले यस वर्षबाट पालिकाले आफ्नै खेलमैदानलाई व्यवस्थित गरेर प्रतियोगिताको आयोजना गर्न लागेको बताउनुभयो । पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य एव्म जिल्ला अध्यक्ष टिकाराम लामा, प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान बोर्ड सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानलगायतको उपस्थिति रहेको थियो ।











