राष्ट्रिय सभाको सोमबार (आज) को बैठकले मिडिया काउन्सिल विधेयक २०८० पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पेश गर्नुभएकाे ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यस्तै आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको विधायन सम्बन्धी विधेयक २०८० सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नुभयो । यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसदहरुले संविधान अन्तर्गत नै सरकारले अध्यादेश जारी गरेको भन्दै नकारात्मक टिप्पणी गर्नुभन्दा अध्यादेशको अध्ययन गरी त्रुटि भएका दफालाई सुधार तथा संशोधन गर्नेतर्फ ध्यान दिनु पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै ग्यास उद्योगीहरू आन्दोलित भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुहुँदै सांसदहरुले उपभोक्ताका अधिकार सुनिश्चित गर्न, ग्यास दुर्घटना रोक्न तथा सुरक्षा सम्बन्धी विषयमा नियमन गर्न आवश्यक रहेको, जीर्ण बनेका सडकखण्ड पुनर्निर्माण हुन नसक्दा दुर्घटना बढिरहेकोले चाडै निर्माणकार्य सुचारु गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार १ः१५ बजे बस्नेछ ।