चितवन । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुने बताउनु भएकाे छ । शनिबार चितवनकाे भरतपुरमा रहेकाे नयाँकिरण कमलकुसुम माध्यमिक बिद्यालयको ५८ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।

बिद्यार्थी लक्षित सम्बाेधन गर्दै प्रदेश प्रमुख देवकाेटाले भन्नुभयो ‘तपाइँहरू जिबनको उर्जाशील उमेरमा हुनुहुन्छ । मेहनतभन्दा अर्को बिकल्प छैन । सन्सार मेहनतीहरूको हो । तपाइहरूसङ्ग सपना हुनुपर्छ अनि त्यो सपनाले बिपनामा मेहनतको मार्गमा डाेर्याउनुपर्छ । यति पढ्नुस् कि अभिभावकले अबत सुत भो नानीबाबू भन्नुपरोस् । तपाई जहाँ भएपनी सस्कारी बन्नुस ।’

‘हरेक आमाबाबुले आफ्नो भन्दा सुखद जीवन छोराछोरीको होस् भन्ने चाहन्छन् र त्यसका लागि आफ्ना रहरहरूको तिलान्जली दिएर आफ्ना सन्तानको लागि दिनरात नभनी मेहनत गर्छन्’ उहाँले भन्नुभयो । ‘अभिभाबकको सपना तुहाउने छुट तपाइँ बिद्यार्थीलाई छैन । मेहनत गर्दागर्दै कहिलेकाही असफल हुनु नौलो होइन’ उहाँले भन्नुभयो ‘ मेहनत नगरी सफलता खोज्नु धान रोपेर मकै फल्छ भन्ने सोच्नुजस्तै हो । तपाईं नानीबाबुहरू कर्मशील हुनुहुन्छ र लक्ष्य हासिल गर्न सक्नु हुनेछ ।’

यसैगरी प्रदेश प्रमुख देवकाेटाले शिक्षक लक्षित सम्बाेधनमा तपाइँहरू यस्तो पेशामा हुनुहुन्छ जुन सबै पेशाहरूको जननी हो भन्नुभयो । ‘खरिदार वा नायब सुब्बा वा अधिकृत भएको भए नागरिकता वा अन्य केही बनाउनुहुन्थ्यो होला । शिक्षक भएर नागरिक बनाउनुहुन्छ’ उहाँले भन्नुभयो । शिक्षण पेशा आफ्नो जिवनको पहिलो पेशा भएकाे बताउँनु हुँदै उहाँले शिक्षकहरुले पेशाप्रती गर्व गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘शिक्षण पेशालाई म अत्यन्तै सम्मान गर्दछु। सम्पूर्ण समाज र रास्ट्रले यो पेशालाई उच्च मूल्यांकन गर्नुपर्दछ ।’

घर बालबालिकाको पहिलो पाठशाला भएकाे बताउँनु हुँदै प्रदेश प्रमुख देवकाेटाले अहिलेका नानीबाबुहरू भिन्न समयमा जन्मेका छन् । हाम्रा थुप्रै अनुभबहरू उनीहरूलाई अर्थ नलाग्ने बताउनु भयो। ‘अहिलेको समय तीब्ररूपमा परिवर्तनकारी छ र जीवन, पेशा, रोजगारी लगायतका क्षेत्रमा आमूल परिवर्तन आएको छ’ उहाँले भन्नुभयो ‘अभिभावकले संस्कार र श्रमको मूल्य नानिबाबुलाई बुझाउनुपर्छ ।’

बिद्यालयले कितावी ज्ञानलाई मात्र जोड नदिएर कला, संस्कृति, कौशल, प्रविधि श्रमको सम्मान तथा विद्यार्थीकाे सर्बाङ्गीण विकासमा जोड दिएकोमा प्रशंसनीय रहेकाे उहाँले बताउनु भयो । ‘हामीले नानीबाबुलाई किताबमात्र होइन जीवन पढाउनुपर्छ । शैक्षिक प्रमाणपत्रहरू कागजी दस्ताबेजमात्र हुन्’ उहाँले भन्नुभयो ‘वास्तविक जीवन भिन्न हुन्छ । नानीबाबुहरू कर्मशील, अनुशासित, इमान्दार, ज्ञानी, बिबेकी, सकारात्मक सोच र चरित्रशीलता जस्ता गुणहरू अबलम्बन गर्ने सिकाइ हुनुपर्दछ ।’ बिद्यार्थी स्वयम्,अभिभावक, विद्यालय र समाज लगायत सबै मिलेर अघि बढे विद्यार्थीकाे भविश्य सुन्दर हुने उहाँले बताउनु भयो ।

‘संसारका हरेक पत्थरहरू मूर्ति बन्न लायक हुन्छन् तर ती पत्थरहरू असल कालिगढको हातमा पर्नुपर्छ’ उहाँले भन्नुभयो शिक्षकहरु, विद्यालय प्रशासन, व्यवस्थापन समिति,अभिभावक तथा समुदाय आफ्नो कालिगढी सिपमा अझै पोख्त हुनु पर्छ ।’ हाम्रो सरोकार हाम्रा नानीबाबुको उज्ज्वल भविश्य भएकाे उहाँले बताउनु भयो । ‘मनकारी दाताहरूको सहयोगले विद्यालयको समग्र परिवेशमा सकारात्मक उर्जा थप्न मद्दत पुर्याउँछ’ उहाँले भन्नुभयो ‘मन फुकाएर गर्नुभएको सहयोगले भविष्यका कर्णधारहरूको जग थप मजबुत हुन्छ ।’ शिक्षाको लगानी उत्कृष्ट लगानी भएकाे बताउँदै उहाँले भन्नुभयो ‘शिक्षाले व्यक्ति, समाज, राष्ट्र र समग्र मानव समाजलाई असल मार्गमा डोर्याउँछ । शिक्षा उज्यालोतिरको यात्रा हो ।’

वार्षिकाेत्सव कार्यक्रममा प्रदेश प्रमुख देवकाेटाले शिक्षाप्रेमीहरूको सालिक समेत अनावरण गर्नु भएकाे थियाे । विद्यालयले विभिन्न क्षेत्रका व्यक्तित्वलाई पुरस्कृत र सम्मानित गरेकाे छ