मकवानपुर – बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन मकवानपुरको चेपाङ बस्तीमा पुग्नुभएको छ । चेपाङ बाहुल्यता भएको जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकामा हिजो शुक्रबारबाट खोप अभियान सञ्चालन गरिएको छ । अभियान सफल बनाउने उदेश्यका साथ मन्त्री लामा शनिबार राक्सिराङ–५,ताङराङ पुग्नुभएको हो ।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका अतिसिमान्तकृत चेपाङ समुदायमा खोप लगाउने दर कम पाइएपछि समुदायमै खोप अभियान संचालान गरिएको छ । सो क्रममा मन्त्री लामाले १३ जिल्लाका अतिसिमान्तकृत, पिछडिएको समुदाय र खोप लगाउने दर कम भएको क्षेत्रमा समुदायस्तरमा खोप अभियान संचालन गरिएको बताउनुभयो । खोप लगाउन स्वास्थ्य संस्थामा पुग्न नसक्नेहरूलाई समुदायमै पुगेर खोप लगाउन समेत आग्रह गर्नुभयो ।

त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले खोपले कोरोनाको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गर्नुभएएको छ । खोप लगाउने दर कम रहेको राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ, तामाङ एवं धार्मिक अगुवा, टोल विकास संस्था लगायतको समन्वयमा खोप अभियान समुदायमा खोप लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशन अनुसार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले अभियान संचालन गरेको छ ।
ऋभियानका क्रममा शुक्रबार हिजो दुई पालिकाका एक हजार बढीले खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताउनुभयो । शुक्रबारदेखि सुरु गरिएको कोरोनाविरुद्धको खोप अभियान अन्तरगत पहिलो दिन हिजो एघार सय बढीले खोप लगाएको उहाँले बताउनुभयो । पहिलो दिन राक्सिराङ गाउँपालिकाका कुल ७१६ र कैलाशका ४६९ जनालाई खोप लगाइएको गुरागाँईले बताउनुभयो । दुई पालिकाका क्रमश १२ र ८ स्थानमा खोप अभियान सञ्चालन भईरहेको र आज (शनिबार) को रिपोर्ट भने संकलन भईनसकेको समेत उहाँले बताउनुभयो । अभियान आगामी १५ गतेसम्म सञ्चालन हुने साथै सो अवधिसम्म खोप नलगाउने स्थानीयलाई कुनै पनि सेवासुविधा उपलब्ध नगराउने निर्णय समेत दुवै पालिकाले गरेका छन् ।