मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले मंगलबार जिल्लाको बिकट राक्सिराङ गाउँपालिकामा अनुगमन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक अनुगमनका क्रममा जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलानको नेतृत्वमा गाउँपालिको कार्यसम्पादनको सम्बन्धमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रको प्रगतिलागायत स्थानीय तहमा आईपरेका समस्यालगायत विषयमा जानकारी लिनुका साथै समाधानका विषयमा छलफल गरेको छ । छलफलका क्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्थम् थिङ, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौंलाले गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो क्रममा उहाँहरुले गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म कुल २०५ वटा योजना मध्ये ९९ वटा सम्पन्न भईसकेको जानकारी दिनभयो । कुल बजेट मध्ये हालसम्म चालु तर्फ ३७ दशमलव ९३ र पुजिगत तर्फ ३१ दशमलव १८ प्रतिशत प्रगति भएको साथै क्षेत्रगत तर्फ हालसम्म कुल ३५ दशमलव २ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । सो क्रममा धेरै योजनाहरु सम्पन्न भएर पनि भुक्तानीकै क्रमामा रहेकाले पुँजीगत तर्फ खर्च कम देखिएको बताउनुभयो ।

अनुगमनका क्रममा जिसस प्रमुख घलानले स्थानिय तहहरुले राजस्व बृद्धि र पुँजीगत खर्च बृद्धि तर्फ ध्यान दिन सुझाव दिनुभयो । उहाँले राक्सिराङ गाउँपालिकामा थुप्रै सम्भावनाहरु रहेकाले त्यसलाई अवसरमा बदल्ने तर्फ गाउँपालिकाले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले जिससबाट स्थानीय तहका हरेक क्षेत्रमा भरपुर समन्वय र सहजिकरण हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सो क्रममा अनुगमन टोलीले पालिकाका विभिन्न योजनाहरुको समेत स्थलगत अनुगमन गरेको थियो । अनुगमन टोलीमा समन्वय अधिकारी बासुदेव खतिवडा, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य बिरेन्द्रकुमार लामा, सुनिता दर्नाल परियार, तारा दुंगाना, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, लेखापाल दिपिका खनाललगायतको सहभागिता थियो ।