मकवानपुर । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रको सुदृढिकरण आवश्यक रहेको बताउनुभएको छ । पत्रकारिता क्षेत्रमा युवापुस्ताको आकर्षणसंगै चुनौति पनि थप भइरहेको भन्दै यसको सुदृढिकरण अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
शनिबार पत्रकार महासंघ मकवानपुरको नियमित कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले पत्रकारहरु व्यवसायिक र जिम्मेवार नहुँदा प्रश्नहरु उठ्न थालेको बताउनुभयो । स्वतन्त्रताको नाममा पत्रकारहरुले आफ्नो व्यवसायिकतालाई बिर्सन नहुने भन्दै उहाँले सामाजिक सञ्जाल र न्यु मिडियाहरुको आगमनसंगै पत्रकारिताको प्रकाशन तथा प्रसारणका सामाग्रीहरु कमजोर बनेको बताउनुभयो । उहाँले कन्टेन्टहरु परिमार्जन गरी आम पाठक तथा दर्शकहरुको आवश्यकता अनुसारको व्यवसायिक पत्रकारिताको आवश्यकता रहेको औल्याउनुभयो ।
अध्यक्ष शर्माले नागरिकहरुमा पत्रकारिता र समाजिक सञ्जालको फकरपन बुझाउन जरुरी रहेको भन्दै नागरिकहरुमा सामाजिक सञ्जालमा लेखेका कुरा र समाचारमा आएका विषयलाई एउटै रुपमा लिदा थप समस्या भएको बताउनुभयो । उहाँले सत्यतथ्य समाचारहरु सम्प्रेषण गरेर जनताको सही सुचना पाउने अधिकारलाई सुनिश्चित्तत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारहरुको समस्या, हकहित, सेवा सुविधा लगायतका विषयमा बहस गर्नेगरी कार्ययोजना निर्माणको तयारी भएकोसमेत बताउनुभयो ।