file photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बोलाईएको प्रदेशसभा बैठक सरेको छ । विश्वासको मत लिन दिउँसो १ बजे बोलाईएको प्रदेश सभा बैठक सूचना टाँस गरेर दिउँसो ४ बजेसम्मका लागि सारिएको हो ।

नेकपा एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा पर्नु भएको थियो । तर, सत्तारुढ दलहरुबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएसंगै विश्वासको मत लिनका लागि अपरान्ह ४ बजेसम्मका लागि बैठक सारिएको हो ।

एकिकृत समाजवादीकी सांसद रमा आले मगर हेटौंडा आउने भएपछि मुख्यमन्त्री ज्म्मकट्टेलले अब विश्वासको मत पाउने पक्का भएको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालका अनुसार सांसद आले मकवानपुर आइपुगिसकेको जानकारी प्राप्त भएको छ । आले बैठकमा उपस्थित हुने भएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।

११० सदस्यीय रहेको बागमती प्रदेशसभामा सरकारको निरन्तरका लागि ५६ सांसदको समर्थन चाहिन्छ । सत्तारूढ दलहरू माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ सांसद छन् भने विपक्षी दलमध्ये कांग्रेस ३७, राप्रपा १३ सभामुखसहित र नेमकिपाका ३ सांसद छन् ।