निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन, अद्यावधिक, मतदानस्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन सामग्री व्यवस्थापन लगायतका अधिकार प्रत्यायोजन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आज आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक कार्यक्रममा निर्वाचन आयोग ऐन, २०७३ संशोधन गरी यस्तो व्यवस्था गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मतदाता नामावली सङ्कलन र मतदानस्थल व्यवस्थापन लगायतको अधिकार स्थानीय तहलाई दिनु स्वागतयोग्य रहेको बताउनुभयो । मतदान केन्द्रमा मतगणना गर्ने विषय सुरक्षाका दृष्टिकोणले पनि जटिल भएको बताउँदै विदेशीलाई मतदान गर्ने अधिकार दिनेजस्ता गम्भीर विषयमा राजनीतिक तह नै स्पष्ट हुनुपर्ने प्रमुख प्रजापतिले बताउनुभयो ।
सूर्यविनायक नपाका उपप्रमुख सरिता तिमल्सिना भट्टराईले बसाइँसराइ भएका र नभएका मतदाताको मतदाता नामावलीमा नाम समावेश गर्नेबारे भएको अन्योललाई आयोगले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।