नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन ।
त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ ।
बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो । तर, संस्थापनइतर पक्षले मात्रै यो विषय उठाएको थियो । संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणको बचाउमा उत्रिएका थिए । इतर समूहले भने त्यसको खुलेरै त्यसको विरोध गरेको थियो ।
उनीहरूले पार्टी पदाधिकारीबीच देखिएको फरक मतले पार्टी बलियो हुन नसक्ने बताए । त्यस्तै प्रदेश सभापतिहरूले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश पोखे । अधिकांश सदस्यले गुटबन्दी मौलाएको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको र पार्टी विधानअनुरूप चल्न नसकेको धारणा राखे ।
त्यस्तै केही नेताहरुले कोशी प्रदेश नामकरणमा पार्टीले आधिकारिक धारणा नबनाएको भन्दै प्रश्न गरे। यस्तै, सदनमा पार्टीको उपस्थिति कमजोर भएकाले संसद बैठकमा जानु पूर्व सल्लाह गर्नुपर्नेमा पनि नेताहरूको जोड थियो ।
बैठकमा सह-महामन्त्रीहरूलाई जिम्मेवारी नदिइएको, भ्रातृ संस्थाहरूलाई पार्टीले मरणासन्न अवस्थामा पुर्याउँदा तीनै तहको निर्वाचनमा असर परेको, नातावाद हाबी भएको, पार्टीमा गुटबन्दीको अवस्था रहेकोलगायत विषय औँल्याएका थिए । साउन २ गते सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा १० वटा एजेन्डा र विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ।