मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले धार्मिक सहिष्णुता नेपालको पहिचान भएको बताउनुभएको छ । आईतबार हेटौंडा–१२ बेलडाँडा स्थित श्री ह्रिग्याल छ्युलिङ्ग गुम्बाद्धारा आयोजित प्रथम १० करोड बज्र गुरु जप तथा विश्व शान्ति पुजाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख खुलालले पछिल्लो समय विभिन्न कारणले नेपालका जातजातिहरूबीच तिक्ततापूर्ण सम्बन्ध विकास हुन थालेको प्रति चिन्ता समेत व्यक्त गर्नुभयो । समाज अराजकता तर्फ उन्मुख भएको भन्दै यसलाई समयमै रोक्न जरुरी रहेको उहाँको भनाई थियो । अहिले त्यस्तो तिक्तता पोख्ने ठाउँ सामाजिक सञ्जाल भएको छ, अरुलाई होच्याउन पाए आफु ठुलो भएँ भन्नेहरु समाजमा बढ्दै गएका छन् त्यसलाई रोक्न सकारात्मक सोचको विकास गर्नु पर्छ”– प्रमुख खुलालले भन्नुभयो ।

वुद्ध जन्मेको देशका रुपमा पहिचान बनाएको नेपालमा वुद्धको उपदेश सबैले अनुसरण गर्नुपर्ने प्रमुख खुलालको भनाई थियो । धार्मिक सहिष्णुता नेपालको पहिचान भएकाे भन्दै यसलाइ जाेगाउन यस्ता कार्यक्रमले सहयाेग पुग्ने प्रमुख खुलालले बताउनुभयाे । वुद्धको उपदेशको पालना गर्दै शान्ति, सदभाव र सेवामा समर्पित हुनु पर्ने प्रमुख खुलालले बताउनुभयो । गुम्बाका अध्यक्ष आश बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा गुम्बाका प्रमुखलामालगायतको सहभागिता रहेको थियो ।











