मकवानपुर – मकवानपुरका स्थानीय तहहरु मिलेर विशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालन गर्ने तयारी गरेका छन् । जिल्लाका १० वटै स्थानीय तह मिलेर विशेषज्ञसहितको “स्थानीय तह सरुवा रोग अस्पताल” सञ्चालन गर्ने तयारी गरेका हुन् ।

मंगलबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा हरेक महिना बस्ने स्थानीय तह समन्वय बैठकमा स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुले कोरोना भाइरसलगायत यस्तै अन्य महामारीका बेलासमेत जिल्लाबासीले सहज उपचार पाउने गरि अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहका प्रमुखहरुले प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र विभिन्न सामाजिक संघ संस्थाको समेत सहभागितामा अस्पताल सञ्चालन गर्नुपर्ने बिचार प्रकट गरेका थिए । उनिहरुले कोरोना भाइरसको तेस्रो लहर आउने आंकलन भइरहेको अवस्थामा तयारी अवस्थामा रहनु पर्ने भन्दै विभिन्न सरुवा रोग तथा महामारी सम्बन्धी उपचार गर्न अस्पताल सञ्चालन गर्नुपर्ने बताएका हुन ।
बैठकले अस्पताल सञ्चालनको प्रारम्भीक कार्य अगाडी बढाउनका लागि जिसस प्रमुख खुलालकै संयोजक्त्वमा समिति समेत गठन गरेको छ । समितिमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र सदस्य सचिवका रुपमा समन्वय अधिकारी रहनुभएको छ । समितिले प्रदेश सरकार, स्थानीय तह, राजनैतिक दल, विज्ञ, निजी क्षेत्र तथा विभिन्न संघ संस्थासंग एवम् सरोकारवालाहरुसंग छलफल तथा समन्वय गरेर काम अगाडी बढाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकमा स्थानीय तहमा कोभिड संक्रमण को अवस्था तथा न्युनिकरण, आगामी आर्थिक वर्षको बजेट निर्माण तथा प्राकृतिक स्रोतको उपयोगका सन्दर्भमा समेत छलफल भएको थियो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, १० वटै पालिकाका प्रमुख एवम् उपप्रमुख, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतको सहभागिता थियो ।