हेटौंडा । बकैया कला–साहित्य महोत्सव २०७९ तथा ३० औँ वार्षिकोत्सवको अवसरमा झरना साहित्यिक परिवारले १० जना स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । यस क्रममा वर्ष २०७९ सालको होमनाथ(टीकामाया प्रतिभा सम्मानबाट डा. जीवेन्द्र देव गिरीलाई प्रदान गरिने भएको छ । उनलाई साहित्यमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो ।
साहित्यको मुक्तक विधातर्फ शिव(सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट नगद १५ हजार ५ सय ५५ सहित सरु भक्तलाई सम्मान गरिने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रदान गरिने पुरस्कारबारे जानकारी गरिएको थियो । साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत नवराज शर्मालाई बाबुलाल(भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । उक्त पुरस्कार १५ हजार ५ सय ५५ राशीको रहेको छ । संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्यलाई नगद ११ हजार १ सय ११ सहित गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको हो ।
त्यस्तै, खडानन्द–मनमाया प्रतिभा सम्मानबाट अमला अधिकारी, सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट अनिता न्यौपाने, सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट कृष्ण प्रसाद चौँलागाई, खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबीलाई सम्मान गरिने भएको छ । उनीहरुलाई नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।
त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार कवि स्वस्तिका दाहाललाई प्रदान गरिने भएको छ । बकैया गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भएको साहित्यिक गतिविधिको आधारमा झरना–महेन्द्र बाल साहित्य समिति र प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई सम्मानपत्र प्रदान गरिने झरना साहित्यिक परिवारले जनाएको छ । उक्त कार्यक्रम ८ र ९ गते हुनेछ ।