हेटौंडा – बागमती प्रदेशका प्रदेश प्रमुख यादबचन्द्र शर्माले देशको मध्यबिन्दुमा रहेको हेटौंडा उपमहानगरपालिकालाई व्यवस्थित शहरको रुपमा बिकास गर्न सुझाब दिनुभयो । हेटौंडा उपमहानगरको ५४औं स्थापना दिवस कार्यक्रमलाई संबोधन गर्दै प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको बिकास मोडल देशभर पुग्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले चारैतिरबाट सडक संजालले जोडिएको हेटौंडा आउने र जानेले यहाँको अनुसरण गर्ने भन्दै शहरलाई व्यवस्थित बनाउन पर्नेमा जोड दिनुभयो । २०४८ सालको परिवर्तन पछि नगरको बिकास सुरु भए पनि प्रयाप्त बिकास हुन नसकेको तर्फ ध्यान उहाँले जोड दिनुभयो । अहिले पनि बजारका सडक मर्मत हुन नसकेको अवस्थालाई सुधार्न सुझाब दिनुहुँदै राजमार्गको बिस्तार र सुधारका कार्यमा ध्यान दिन सबैलाई आवहन समेत गर्नुभयो ।
कार्यक्रममा पुर्व नगर प्रमुख डोरमणी पौडेलले हेटौंडाले दिने सकारात्मक सन्देश मुलुकको सबै भागमा पुगेको बताउनुभयो । हरित र सुन्दर शहरको रुपमा रहेको हेटौंडालाई बागमती प्रदेशको राजधानी शहरको रुपमा चिनाउन आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले नगरको बिकासकालागि सबैको भूमिका आवश्यक रहको बताउनुभयो
कार्यक्रममा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरापालिकाका उपप्रमुख राजेश बानियाँ, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देबकृष्ण पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगाएतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।