मकवानपुर । बागमती प्रदेशमा कांग्रेसका मन्त्रीहरुले सामुहिक राजिनामा दिनुभएको छ । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसंगै प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजिनामा दिनुभएको हो ।
बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउनुका साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनु भएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो ।
२०७९ पुस २५ गते माओवादी केन्द्रको नेतृत्वमा एमाले र राप्रपाबीच सहकार्यका सरकार गठन भएको थियो । तर त्यतिबेला केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि कांग्रेससँग गठबन्धन गरेपछि मुख्यमन्त्री जम्कट्टेलले २०७९ चैत्र २६ गते कांग्रेसलाई सरकारमा सहभागी गराउनुभएकाे थियाे । कांग्रेसबाट चैत्र २६ गते नै आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुर सिं लामा र खानेपानी तथा सिँचाइ मन्त्रालयमा तीर्थबहादुर लामा मन्त्री नियुक्त हुनुभएको थियो ।
त्यसपछि २०८० जेठ ७ गते मसिना खड्कालाई वन तथा वातावरण मन्त्री, पुकार महर्जन संस्कृति पर्यटन तथा सहकारी मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्री र रामकृष्ण चित्रकार विनाविभागीय मन्त्री नियुक्त हुनुभएको थियो । चित्रकारले करिब साढे ३ महिना पछि भदौ १७ गते मात्रै उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो । १२ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा कांग्रेसले ६, माओवादीले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालय भागबण्डा गरेर सरकार गठन भएको थियो । त्यसबेला सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टी भने सरकार बाहिरै रहेको थियो ।