आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ ।
केसीका अनुसार ३० वटा शव निकालेर अस्पताल पुर्याइदिइएको र ३४ वटा शव खोँचमा भेटिएका छन् । निकाल्न प्रयास भइरहेको छ । तीन सय मिटर गहिरो खोँच भएकाले शव निकाल्न कठिन भएको उनले बताए । मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए। अहिलेसम्म कोही पनि जीवित नभेटिएको उनले बताए । जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घण्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ ।











