मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । हालै सम्पन्न भएको प्रदेश सभाको निर्वाचनमा सप्तरी क्षेत्र नंं ४ बाट निर्वाचित हुनुभएका प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेलाई प्रदेश प्रमुखले आफ्नो कार्यालयमा शपथ गराउनुभएको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपाने ७१ वर्षका हुनुहुन्छ ।
शपथ ग्रहण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज कुमार यादव, प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, अर्थमन्त्री शैलेन्द्र साह उपस्थित हुनुहुन्थ्यो । त्यस्तै, कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रमुख सचिव कृष्ण बहादुर राउत, प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुली, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो ।
पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै ज्येष्ठ सदस्य न्यौपानेले आजै प्रदेशसभामा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । ज्येष्ठ सदस्य न्यौपानेले मधेश प्रदेशमा नव निर्वाचित भएका बाँकी रहेका १ सय ६ जना सदस्यहरूलाई भोलि शुक्रबार दिउँसो २ः०० बजे शपथ ग्रहण गराउनुहुने कार्यक्रम रहेको छ ।