मकवानपुर । बागमती प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । बिहीबार प्रदेश सभा सचिवालयमा एक समारोहकाबीच ज्येष्ठ प्रदेश सभा सदस्य राम प्रसाद ढुङ्गानाले नवनिर्वाचित १०९ जना प्रदेश सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

प्रदेश सभा सचिवालयका अनुसार १०९ जना प्रदेश सभा सदस्यमध्ये १५ जनाले मातृभाषामा शपथ लिनु भएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार १०९ मध्ये १२ जना प्रदेश सभा सदस्यले नेवारी, ३ जनाले तामाङ तथा बाँकी प्रदेश सभा सदस्यले नेपाली भाषामा शपथ लिनु भएको हो । यस अघि हिजो ज्येष्ठ सदस्य ढुङ्गानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथ ग्रहण गर्नु भएको थियो । शपथ ग्रहणपछि अब सभामुख चयन गर्ने, मुख्यमन्त्री चयन गर्ने सत्ता गठबन्धनका दलहरूको तयारी रहेको छ । बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य हुनुहुन्छ । शपथग्रहण कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीहरू, मन्त्रीहरू, पूर्व सभामुख सहितको पनि उपस्थिति रहेको थियो ।

यसैबीच बागमती प्रदेशसभाको ११ औ अधिवेशन यही पुस १८ गते सोमबारका लागि आव्हान गरिएको छ । बागमती प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काद्वारा जारी सूचना अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेशसभाको अधिवेशन पुस १८ सोमबारलाई आव्हान गर्नु भएको हो ।