मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन ) चयन हुनुभएको छ । आज बागमती प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले उहाँलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका थपलिया चितवन निर्वाचन क्षेत्र नम्बर १(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रदेशसभाको दोस्रो ठूलो दल एमालेबाट निर्वाचित थपलिया पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुनुहुन्छ । अब बागमती सरकारको नेतृत्व एमालेले पाउँदा मुख्यमन्त्री थपलिया हुने पक्का भएको छ । संसदीय दलको नेता चयन गर्न बोलाइएको बैठकमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेश सह इन्चार्ज आनन्द पोखरेल केन्द्रिय सल्लाहकार एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल लगायत नेताहरूको उपस्थित थियो ।